रेडजोनमा किटको हाहाकार, संसदमा ४४१ को खकार !

विज्ञको प्रश्न- नेतालाई डूब्ल्यूएचओको प्रोटोकल लाग्दैन ?
    २६ बैशाख २०७७, शुक्रबार ०९:५०  मा प्रकाशित
222 जनाले पढ़िसके









काठमाडौं । भनिन्छ, कोरोना भाइरस (कोभिड-१९) ले सर्वसाधारण वा भीआईपी कसैलाई छुट्याउँदैन । तर, कोरोना भाइरस परीक्षण गर्नेहरुले नै विभेद गरेपछि कसको के लाग्छ ?

बिहीबार संसद भवनमा यस्तै विभेदपूर्व दृश्य देखियो ।

रेडजोनमा रहेका आशंकितहरु कोरोना टेस्ट गर्ने किटको अभावमा छटपटाइरहेका छन् । यता संसद भवनमा चाहिँ भीआइपीहरुलाई ज्यानको माया कति रहेछ भन्ने राम्रैसँग देख्न पाइयो ।

कुनै ट्राभल हिस्ट्री नभएका, लक्षण नै नभएका र डेढ महिनादेखि लकडाउनमा बसेका भनिएका सांसदहरुले कोरोना परीक्षणका लागि थ्रोट स्वाब दिए । एकाध सांसदको मात्र होइन, एकैदिन कर्मचारीसमेत गरेर ४४१ जनाको पीसीआर विधिबाट परीक्षणका लागि थ्रोट स्वाब संकलन गरियो ।

बिहीबार छुटेकाहरुको शुक्रबार स्वाब संकलन गरिनेछ र भोलि नै रिपोर्ट दिने भनिएको छ । र, त्यही निरोगिताको रिपोर्ट बोकेर सांसदहरु शुक्रबार अपरान्ह संसद अधिवेशनमा सहभागी हुनेछन् ।

उता, जनताको हालतचाहिँ भीआइपीहरुको भन्दा अलि भिन्न छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मानिएको उदयपुरको भुल्के, नेपालगञ्ज र वीरगञ्जका जनता त्रासमा बाँचिरहेका छन् । चाहेर पनि आफूलाई कोरोना संक्रमण भए/नभएको थाहा पाउने परीक्षण गर्न पाएका छैनन् । सरकारी अधिकारीहरु कट्याक ट्रेसिङको साँघुरो दायरा बोकेर बसेका छन् र सीमित व्यक्तिको मात्र पीसीआर टेस्ट गरिरहेका छन् ।

पछिल्लो समय त उनीहरकै परीक्षणसमेत किटको अभावका कारण धेरै ठाउँमा रोकिएको छ । आरएनए एक्ट्रयाक्सन किट नहुँदा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षण रोकिएको छ । कोशी अस्पताल, बिराटनगरमा अटोमेटिक मेसिन बन्द भएको छ । जुम्लास्थित कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको पीसीआर मेसिन चलाउन सकिएन ।

विज्ञहरु नै तीनछक्क !

सांसदहरुको सामुहिक थ्रोट स्वाब संकलन देखेर स्वास्थ्य मन्त्रालयका विज्ञहरु पनि छक्क परेका छन् । ‘किट अभावले सम्भावित संक्रमितहरुको टेस्ट रोकिएका बेलामा नेताहरुले आफ्नो टेस्ट गराएर अर्को भद्दा मजाक गरे,’ मन्त्रालयका एक विज्ञ भन्छन्, ‘साँच्चै उहाँहरुले कसका लागि राजनीति गरिरहनुभएको छ ?’

स्वास्थ्य मन्त्रालय अर्का जनस्वाथ्य विज्ञको प्रश्न छ, ‘नेताहरुले आवश्यकताको सिद्धान्तलाई चुनौती दिएर जनताहरु त भुसुना नै हुन् भन्ने सन्देश दिन खोजेका हुन् ?

संसदका प्रवक्ताको स्पष्टीकरण

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर सबै सांसदको पीसीआर टेष्ट गर्ने व्यवस्था मिलाइएको हो । ‘माननीयज्यू र उहाँका सहयोगीहरु देशका विभिन्न स्थानबाट आउनुभएको छ । भोलि कुनै दुर्घटना नहोस् भनेर सुनिश्चित हुन सबैको टेस्ट गर्ने व्यवस्था मिलाएका हौं’ पाण्डेले अनलाइनखबरसँग भने ।

बिहीबार थ्रोट स्वाब संकलज गर्न छुटेका सांसदहरुलाई भोलि शुक्रबार ८ देखि १० बजेसम्म बोलाइएको छ । र, स्वाब संकलन गरेको रिपोर्ट चार घण्टामा आउनेछ । र, भोलि ४ बजे बैठक सुरु हुँदा कोरोना नेगेटिभ आएका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ ।

साथै संसद भवनभित्र न्यूनमत स्वास्थ्य मापदण्ड पूरा गर्ने सबै व्यवस्था मिलाइएको छ भने बैठकको सुरुमै अपनाउनुपर्ने न्यूनतम सावधानीबारे सांसदहरुलाई जानकारी गराइनेछ ।

तर, संसद भवनबाट बाहिर निस्किएपछि त सांसदहरु आफ्नो घरमा जान्छन्, लकडाउन भए पनि धेरथोर भेटघाट होला नि ? भन्ने प्रश्नमा प्रवक्ता पाण्डेले भने, ‘संसद भवन बाहिर उहाँहरु आफैंले पनि सावधानी अपनाउनुपर्छ । लकडाउन भएकाले उहाँहरु घरमा पनि सुरक्षित नै रहनु भएको हुन्छ ।’

उनले अघि भने, ‘यो अवधिमा कार्यकर्ता भेटघाट लगायतका गतिविधि बन्द गर्नुपर्ने हुन्छ ।’

नेतालाई डूब्ल्यूएचओको प्रोटोकल लाग्दैन ?

हुन पनि एक महिनाअघिसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड-१९ आशंकामा पुग्ने मानिसहरु दर्जनौं हुन्थे । उनीहरु संक्रमण फैलिएका देशबाट आएका पनि थिए ।

सामान्य लक्षणहरु पनि देखिएको हुन्थ्यो । तर, अधिकांशलाई टेस्ट नगरी फर्काइयो । किनभन्दा चिकित्सकहरु भन्थे, ‘ट्राभल हिस्ट्री मिलेर मात्रै जाँच गरिँदैन । सामान्य ज्वरो र रुघाखोकी मात्र कोरोनाको लक्षण मानिन्न, श्वास प्रश्वासको समस्या पनि हुनुहुन्छ ।’

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रोटेकल देखाउँथ्यो । जसमा भनिएको छ, कोभिड जाँच गर्न ट्राभल हिस्ट्री, लक्षण, संक्रमितसंग प्रत्यक्ष सम्पर्क र संक्रमण समुदायस्तरमा फैलिएको क्षेत्रमा बसोबास हुनुपर्छ ।’

ट्राभल हिस्ट्री मिलेको तर, अस्पतालले कोभिड-१९ जाँच नगरिदिएकै कारण समाजबाट बहिस्कृत हुनुपर्‍यो, कोठाबाट निकालिनुपर्‍यो । छिमेकीले उजुरी गरेर प्रहरी चौकीसम्म धाउनु पर्‍यो । उनीहरुले आरटीडी टेस्ट समेत गर्न पाएनन् । त्यसैले विदेशबाट आएको डेढ दुई महिनासम्म पनि उनीहरुमाथि शंकाको नजरले हेरिन्छ ।

कोरोना संक्रमण फैलिएको भारतबाट आएका केही लाख र तेस्रो मुलकहरुबाट केही हजार मानिस अझै आरटीडी समेत परीक्षण गराउन पाएका छैनन् । जबकि उनीहरुलाई नेपाल आउनासाथ आइसोलेट गरेर पीसीआर टेष्ट गर्नुपर्ने थियो । किनकि कोरोनाको जोखिमपूर्ण क्षेत्रबाट आएका उनीहरु आफू मात्र संक्रमित हुनसक्ने होइन, अरुलाई पनि संक्रमण सार्न सक्थे ।

जनताको हकमा डब्ल्यूएचओको गाइडलाइन समातेको स्वास्थ्य मन्त्रालयले सांसदको हकमा यो बिर्सियो । र, संसदको सदस्य भएका हरेकको पीसीआर टेष्ट गराएको छ ।

व्यर्थ हुनेछ यो परीक्षण

बिहीबार सांसदहरुको कोरोना परीक्षण गरिएको शुक्रबारबाट सुरु हुने संसदको बजेट अधिवेशनका लागि हो । संसदको यो अधिवेशनमा सरकारले आफ्नो नीति तथा कार्यक्रम, बजेट ल्याउनुपर्ने भएकाले संसद बैठक अब लगातार बस्छ ।

तर, कोरोना परीक्षणका लागि थ्रोट स्वाब दिएका सांसदहरु आइसोलेसनमा हुने छैनन् । उनीहरु बुधबार नै थ्रोट स्वाब दिएर आआफ्नो घरमा फर्किएका छन् र, नियमित भेटघाटमा व्यस्त भएका छन् । त्यतिमात्र होइन, सांसदका स्वकीय सचिव, सवारी चालक कसैको पनि कोरोना परीक्षण गरिएको छैन ।

त्यसैले यो परीक्षण अभाव भइरहेको किट र राज्यको स्रोत साधनको नाश मात्र हुने देखिन्छ । जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षित पनि या त सांसदहरु आइसोलसनमा बस्नुपर्ने नभए हरेक साता टेष्ट गर्नुपर्ने अवस्था आउने बताउँछन् ।

‘सांसदहरुको पीसीआर टेस्ट गर्नु राम्रो हो । किनकि हामीले सुरुदेखि नै सबैको पीसीआर टेष्ट गर्नुपर्छ भन्दै आएका हौं’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘तर आज टेस्टका लागि नमूना दिएर उहाँहरु आइसोलेनमा त बस्नुभएको छैन । आफ्नो नियमित दैनिकीमा फर्किने हो भने रिपोर्ट नेगेटिभ आए पनि फेरि संक्रमित हुने सम्भावना रहिरन्छ ।’

किनकि पीसीआर टेस्टिङको विश्वव्यापी मान्यता छ, संक्रमण भएको छ-छैन पत्ता लगाउन स्वाब झिकेपछि आइसोलेसनमा बस्नुपर्छ । टेस्टको रिजल्ट नआएसम्म अरुको प्रत्यक्ष सम्पर्कमा जानहुन्न । कसैसँग भेटघाट र घुलमिल प्रतिबन्ध गर्नुपर्छ ।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले भने पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि नेताहरुले सावधानी नै नअपनाउने सम्भावना पनि रहने बताए ।

नेताहरुले गुमाएको एउटा अवसर

जनस्वास्थ्य विज्ञहरुका अनुसार सांसदहरुको कोरोना परीक्षण आफैंमा नराम्रो होइन । किनकि लकडाउन भने पनि राहत बाँड्ने नाममा धेरै सांसदले दौडधुप परेका छन् । अर्थात उनीहरु अहिलेको अवस्थामा सबैभन्दा ‘एक्स्पोज’ भएका व्यक्तिहरुमध्ये एक हुन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदहरुले यो लकडाउनको अवधिमा धेरैभन्दा धेरै मानिसलाई भेटेका छन् । त्यसैले यस्ता मानिसहरुको कोरोना परीक्षण गर्दा नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लाग्नसक्छ । त्यसैले यो नेपालमा कोभिड-१९ को परीक्षणमा हाल कायम साँघुरो दायरा भत्काउने अवसर थियो ।

यसका लागि सरकार वा स्वास्थ्य मन्त्रालयले ट्राभल हिस्ट्री भएका, लक्ष्मण देखिएका, संक्रमितको सम्पर्क गएकाहरुसँगै धेरै एक्स्पोज भएकाहरुको पनि परीक्षण गर्ने निर्णय गर्न सक्थ्यो । यसो गर्दा १५/२० हजारको परीक्षण गर्नुपर्ने हुन्थ्यो होला’ स्रोतले भन्यो, तर यसले कोरोना संक्रमणको एउटा तस्वीर बाहिर आउँथ्यो ।’

यसमा पीसीआर नै गर्नुपर्छ भन्ने पनि थिएन । किनकि आरटीडी टेस्ट गरेर अध्ययन गर्न सकिथ्यो । तर, सांसदहरुको मात्र पीसीआर टेस्ट गर्ने तर जोखिमपूर्ण क्षेत्रबाट आएका, रेड जोन मानिएको क्षेत्रमा भएकाहरुले आरटीडीसमेत गर्न नपाउने स्थिति बनाउनुले नेता र सांसद सबथोक हुन्, उनीहरु मात्र सुरक्षित हुनुपर्छ । जनता केही होइन भन्ने सन्देश जान खतरा छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस