बजेटमा एमसीसी परेपछि नेकपामा विवाद फिर्ता लिन द’बाव…

    १७ जेष्ठ २०७७, शनिबार १४:१४  मा प्रकाशित
221 जनाले पढ़िसके









काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् ।प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटवार्ता लगत्तै थप छलफल गर्न शनिबार विहान ९ बजे सचिवालय बैठक समेत बोलाइएको छ ।

सरकारले बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको थियो । बजेटमा लप्सीफेदी-रातामाटे- हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख छ र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी भनिएको छैन । तर ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।

लगतै नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए । आफूहरुको कार्यदलले परिमार्जन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको भन्दै दुवैले पार्टीमा छलफल नगरी एमसीसी सम्झौता अगाडि नबढाउन आग्रह गरेका थिए ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदन गर्ने/नगर्ने संसदको हातमा भएको बताएका थिए । साथै एमसीसी अनुमोदन नभए सरकार आफैंले अन्तरदेशीय प्रशारण लगानीमा लगानी गर्ने बताएका थिए ।

तर बजेट आउँदा एमसीसी अगाडि बढाउने गरी आएको भन्दै सचिवालय सदस्यहरुले नै आपत्ति जनाएका छन् । एक नेता भन्छन्, ‘पार्टीमा निर्णय नै नभएको विषय बजेटमा आएको छ । तर यसलाई तत्काल फिर्ता लिनुपर्छ भन्ने हाम्रो प्रष्ट मत छ ।’ यसबारे शनिबारको सचिवालय बैठकमा थप छलफल हुने उनले बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस