‘भीआईपी’ जुवा खाल : १७९ सिक्काको मूल्य खोज्दै प्रहरी

    २० जेष्ठ २०७७, मंगलवार १५:५६  मा प्रकाशित
225 जनाले पढ़िसके









काठमाडौं । पक्राउ परेका सबै जना उच्च व्यापारिक घरानाका व्यक्ति, कमलादीस्थित गगौंर बुटिक होटलमा चलाइएको भीआईपी जुवा खालमा छापा मार्दा बरामद भएको रकम भने २ लाख ७७ हजार रुपैयाँ मात्रै !

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट छापा मार्न खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहाल नेतृत्वको टोली अहिले यही रकममाथि केन्द्रित भएर अनुसन्धानमा जुटिरहेको छ ।

घटनास्थलबाट १ सय ७९ वटा सिक्का बरामद भएको छ, जसलाई ‘डिकोड’ गरेपछि जुवामा कारोबार भएको यकिन रकमबारे खुल्नेछ । यो क्यासिनोमा खेलिने जुवाको शैली हो ।

लकडाउनका बेला भेला भएर रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइले बुटिक होटललाई नै क्यासिनो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान संलग्न एक अधिकृत भन्छन्, ‘निश्चित रकम तोकेर काउन्टरबाट सिक्का लिने गरिन्छ, पछि जम्मा भएको सिक्का बराबरको रकम साट्ने गरिन्छ ।’ यदि प्रहरीले छापा हानीहाले थोरै रकम मात्र बरामद होस् भनेर यो शैली अपनाइएको अधिकृतहरु बताउँछन् ।

भीआईपी समात्दा प्रहरीलाई तनाव

सोमबार साँझ भीआईपी जुवाडेलाई समात्नेवित्तिकै चासो राख्दै विभिन्न व्यक्तिले छुटाउन प्रहरीलाई दबाब दिएको स्रोत बताउँछ । पक्राउ परेपछि कतिपयले आफूलाई मुटुको रोगी बताएका छन् भने एक जनाले क्यान्सरको शल्यक्रिया गरेको जनाएका छन् ।

स्रोत भन्छ, ‘पक्राउ परेका अधिकांश ६०, ६५ वर्षका छन्, केही न केही रोग नहुने कुरै भएन । अहिलेसम्म उहाँहरु हिरासतमै हुनुहुन्छ ।’ तर, यी भीआईपी जुवाडेमध्ये केहीले अस्पतालमा बसेर हिरासत छल्ने प्रयास गरिरहेको स्रोत बताउँछ ।

उच्च व्यापारिक घराना र शक्ति केन्द्रका निकट व्यक्तिले हिरासत छल्न विरामीको नाटक गरेर अस्पताल बस्ने गरेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भने पक्राउ परेका व्यक्तिबारे चासो राख्नु सामान्य कुरा भएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘अब म्याद थप गरेर जुवा ऐनअनुसार थप कारबाही प्रक्रिया अघि बढ्छ ।’

तीन महिना कैद हुनसक्ने

गत वर्ष १ भदौमा मुलुकी अपराध संहिता जारी हुनुअघि जुवा खेल्ने व्यक्ति २ सय रुपैयाँ जरिवाना तिरेर छुट्ने गरेका थिए । तर, संहिताले पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भनिएको छ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्ने सरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

कोरोना महामारीका कारण अहिले एक वर्षसम्म कैद सजाय हुने घटनामा हिरासत बाहिरै राखेर पनि कारबाही प्रक्रिया अघि बढाउन मिल्ने गरी व्यवस्था गरिएको छ । त्यसैले ८ जना भीआईपी जुवाडेले धेरै दिन हिरासत भने बस्नु नपर्ने अधिकृतहरु बताउँछन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस