भारतीयको ज्यादती – गोठालामाथि कुटपिट, भैँसी खोसेर लगे

    २ असार २०७७, मंगलवार २१:४३  मा प्रकाशित
318 जनाले पढ़िसके









स्याङ्जा । नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैँसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैँसी भारतीय नागरिकले खोसेर लगेका छन् । सरदार समुदायका भारतीय नागरिकले भैँसी बाँध्ने डोरी र पगडी खोलेर उपाध्यायको हातखुट्टा बाँधेर भैँसी लगेका पीडितको भनाइ छ । उनीहरूले भारतमा भैँसी चराउन ल्याएको भन्दै वृद्धमाथि कुटपिट गरेका थिए । तर, उनीहरूले नेपाली भूमिमै भैँसी चराएका थिए ।

आफ्ना तीन र छिमेकीका दुईवटा भैँसी भारतीय नागरिकले लगेको उपाध्यायले बताए । भैँसी चराएर सोमबार साँझ घर फर्कने क्रममा तीन-चारजना भारतीय नागरिक आएर भैँसी लगेको उनले बताए । उनले भने, ‘हातमा डोरी थियो, त्यही डोरी खोसेर हातखुट्टा बाँधेर मलाई खोलामा फालिदिए । बुढो मान्छे हो, रातभरमा मरिहाल्छ भन्दै भैँसी लगे । बाँधिएको हातखुट्टा आफैँले खोलेर घर आएको उनले बताए । उनले भने, ‘स्थानीय अस्पतालमा उपचारपछि घरमै छु । उनीहरूले लगेकामध्ये दुईवटा भैँसी ब्याउने थिए । लाखौँका भैँसी लगे, भाग्यले बाँचेँ ।’

साँझ भैँसीविनै घर पुगेपछि घटना सार्वजनिक भएको थियो । स्थानीयले दोषी पहिचान गरेर कारबाहीको माग गरेका छन् । बेलडाँडी गाउँपालिका– ४ र ५ झिलमिला, वैवाह क्षेत्रका स्थानीय झिलमिलाफाँटामा वस्तुभाउ चराउन जान्छन् । यो नेपाली भूमिमा पहिल्यैदेखि किसानहरूले वस्तुभाउ चराउने, घाँस काट्ने गर्दै आएका छन् ।

घटनाबारे बेलडाँडी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)लाई अवगत गराएको जनाएको छ । सशस्त्र प्रहरी बल बेलडाँडी बिओपीका इन्चार्ज योगेन्द्र भण्डारीले एसएसबीसँग घटनाबारे छलफल गरेर संलग्नहरूको खोजी भइरहेको बताए । उनले भने, ‘यस घटनाबारे भारतीय सुरक्षाकर्मीसमेत चिन्तित छन्, उहाँहरूलाई घटनाका दोषी खोज्न र नेपाली किसानका भैँसी फिर्ता गर्न दबाब दिएका छौँ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस