१८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, रुखमा झुण्ड्याएर विभत्स हत्या प्रयास

बलात्कारको विभत्स घटना एक महिनापछि बल्ल बाहिर आयो
    ९ मंसिर २०७७, मंगलवार १७:४६  मा प्रकाशित
1507 जनाले पढ़िसके









जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए ।

घटना मंसिर ३ गतेको भए पनि सोमबार साँझ मात्र बाहिर आएको छ ।

पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना अझै फरार छन् ।

कसरी भयो घटना ?

पीडित युवतीले अनलाइनखबरलाई बताएअनुसार ३ कात्तिकको साँझ साथीका नातेदार राजेश महतोले फोन गरेर घर नजिकैको सडकमा बोलाएका थिए । महतोले बोलाएको ठाउँमा पुग्दा अरु एकजना पनि थिए ।

युवतीले भनिन् ‘राजेशसहित दुईजनाले मुखमा रुमाल कोचेर बोल्न नदिई बर्दिवास लगे । त्यहाँ थप एकजना आए । र, तीनैजनाले पालैपालो करणी गरे ।’

सामूहिक बलात्कारपछि तीनजनाको समूहले उनलाई मोटरसाइकलमा घर ल्याएका थिए । आफूले ‘तिमीहरुविरुद्व कानुनी उपचारमा जान्छु’ भनेपछि सडकमै रोकेर घाँटी थिचेर मार्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।

‘बर्दिवासमा हाम्रो राज चल्छ’ भन्दै उनीहरुले बाटोमै घाँटी थिचेर मार्ने प्रयास गरेको उनले बताइन् । ‘मेरै सल लिएर त्यसकै पासो बनाएर उनीहरुले मलाई एउटा रुखमा झुण्डयाए’ सलले बाँधेको दाग देखाउँदै उनले भनिन्, ‘झुण्डयाएर भागेको केहीबेरमै गाउँकै एकजनाले देखेपछि उद्धार गर्नुभयो र म बाँचें ।’

राति ९ बजेतिर घर पुगेकी उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । उनका अनुसार बलात्कार र हत्या प्रयास गर्ने समूहले सुनको सिक्री, कानमा लगाएको सुनको गहना र मोबाइलसमेत लुटेको युवतीले बताएकी छन् ।

दुईजना पक्राउ, तीन वटा मुद्दा दर्ता

घटना सार्वजनिक भएलगत्तै प्रहरीले घटनामा संलग्न भएका दुई युवकलाई पक्राउ गरेको छ । फरार भएका एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा २० वर्षीय शिवचन्द्र कृपाल महतो र सरोज महतो पक्राउ परेका छन् । दुबै मिथिला नगरपालिका २ का बासिन्दा हुन् । उनीहरुबिरुद्ध अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।

कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस