काठमाडौंका बासिन्दाले अब यसरी घरमै फोहोर छुट्याउनुपर्ने

    २४ जेष्ठ २०७९, मंगलवार १२:४४  मा प्रकाशित
601 जनाले पढ़िसके









काठमाडौँ — काठमाडौंका बासिन्दाले अब घरमै फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएपछि यही नियम कडाईका साथ पालना गर्नुपर्ने भएको छ ।

यो नियम आगामी साउन १ गतेबाट लागू गर्ने तयारी भएको महानगर स्रोतले बताएको छ । असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फल्न रोक्ने उहाँहरुको चेतावनी छ ।

सोमबार महानगरपालिका, सहरी विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहरुबीच सिंहदरबारस्थित मन्त्रालयमा भएको सहमतिअनुसार साउनबाट भने काठमाडौंमा घर, पसल, होटल, रेस्टुरेन्टसहित सबै फोहोर उत्पादन गर्नेहरुले कुहिने र नकुहहिने फोहोर छुट्टाछुटै रुपमा राख्नुपर्नेछ । महानगरपालिकाले केही दिनमै सूचना जारी गर्ने एक अधिकारीले बताउनुभयो । कडाइ पूर्वक फोहोर वर्गीकरण गर्न प्रोत्साहनको नीति पनि ल्याइने योजनामा महानगरपालिका छ ।

महानगरपालिकाका मेयर बालेन साहले चुनावी अभियानकै क्रममा कुहिने र नकुहिने फोहोर लिने गाडी छुट्टा छुट्टै दिनमा पठाउने बताउँदै आउनुभएको थियो । उहाँले कुहिने र नकुहिने फोहोर छुट्याएर दुबैबाट महानगरले आम्दानी गर्न सक्ने बताउँदै आउनुभएको थियो । जैविक र अजैविक फोहोरको वर्गीकरण गर्ने अभ्यास धरान र धनकुटा लगायतका स्थानीय तहले गर्दै आइसकेका छन् ।

काठमाडौं महानगरले यो अभ्यास थालेपछि ललितपुर महानगरपालिकासहित उपत्यकाका अन्य नगरपालिकाले पनि यही विधिबाट फोहोर संकलन गर्न बाध्य हुनेछन् । किनकी उपत्यकाको सबैजसो नगरपालिकाले अहिले सिसडोल र बञ्चरेडाँडामै फोहोर फालिरहेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस