पत्रकारलाई मेयर बालेन साहले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, महासंघद्धारा घेद व्यक्त

    १ असार २०७९, बुधबार २१:३३  मा प्रकाशित
738 जनाले पढ़िसके









काठमाडौं । समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका टिभि जर्नालिष्टलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दुर्व्यवहार गरेको भिडियो बाहिर आएको छ ।

समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन दवाव दिएको भिडियो बाहिर आएको हो ।

समाचार संकलनमा पुगेका पत्रकारलाई मेयर बालेन रहेको स्थानबाट धकेलेर बाहिर निकाल्न लगाएको भिडियोमा देख्न सकिन्छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि हिमालय टेलिभिजनका पत्रकार दिउँसो १ बजे त्यहाँ पुगेको टेलिभिजन समाचार शाखाले जनाएको छ ।

बाहिर आएको भिडियोमा मेयर साहले पत्रकारलाई तिमी भनेर बोलिरहेको देखिन्छ भने पत्रकारले सम्मानजनक शब्दमा बोलिरहेको सुन्न सकिन्छ ।

यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस