कसरी जाेडे सुब्बाले चार वर्षमै ६ करोड ?

    ४ असार २०७९, शनिबार १०:४९  मा प्रकाशित
405 जनाले पढ़िसके









कसरी जाेडे सुब्बाले चार वर्षमै ६ करोड ?

काठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोड भन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ ।

यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा) स्तरका कर्मचारी भीमकान्त भण्डारी । भण्डारीले कमाएको ६ करोड रुपैयाँको स्रोत खुलाउन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ ।

भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए । चार वर्षको सरकारी जागिरको समयमा उनी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।

वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए । भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा उनले ६ करोड बढी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन् ।

उनको सम्पत्ति छानबिनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ देखिएपछि सो रकम भ्रष्टाचार गरेको ठहर गर्दै गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ

।भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगोबमोजिम जरिमाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए । अख्तियारका अनुसार निज नायब सुब्बा भण्डारीले विभिन्न समयमा चार जना मन्त्रीको स्वकिय सचिव बसेकै बेला अकूत सम्पति आर्जन गरेको पाइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस