आक्रमणमा घाईते महानगर प्रहरीलाई भेट्न अस्पताल पुगे बालेन, कसैलाइ नछाड्ने चेतावनी

    १३ मंसिर २०७९, मंगलवार ०९:१५  मा प्रकाशित
148 जनाले पढ़िसके



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) (Balendra Shah) ले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेट्नुभएको छ ।सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुग्नुभएको हो । पाण्डेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

आजै काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा महानगर प्रहरीमाथि भएको आक्रमणमा संलग्नहरुमाथि कानून अनुसार कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको छ ।







महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै सो घटनाको नेतृत्वकर्ता र त्यसमा संलग्नहरुमाथि उजुरी गरेको भन्दै कारबाहीका लागि माग गर्नुभएको हो ।

सो घटना घटाउन नेतृत्व गर्ने तथा आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा अपराध अनुसन्धानका लागि महानगरपालिकाबाट पत्र प्रेषित गरिएको छ, मानन्धनले भन्नुभयो ।

महानगरपालिकाका अनुसार अनधिकृत संरचना हटाउने कानून बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरुलाई सांघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही हुन सम्बद्ध निकाय तथा पदाधिकारीहरुलाई अनुरोध गरिएको छ ।

महानगरपालिकाले अधिकार सम्पन्न वाग्मती सभ्याता एकीकृत विकास समितिको अनुरोधपछि महानगर प्रहरी बलका प्रमुखको नेतृत्वमा टोली थापाथली पुगेको जनाएको छ ।

सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले खुँडा जस्ता धारिलो हतियार, ढुंगामुढासहितका सामग्रीसहित उपस्थित भई आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन्,ु महानगरपालिकाले भनेको छ । महानगरपालिकाले आक्रमणमा परि घाइते भएकी नगरप्रहरी शर्मिला बोगटीसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।

सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट पटकपटक सार्वजनिक सूचना गरिएको, सम्बन्धित स्थानीय प्रशासनसँग समेत समन्वय तथा पत्राचार भए पनि महानगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने दुःखद घटना घट्न पुगेको अवस्था छ विज्ञप्तिमा भनिएको छ ।

गगन थापालाई प्रधानमन्त्री मान्छौँ तर देउवा–प्रचण्डलाई मान्दैनौँ : रवि लामिछाने
आम निर्वाचनको मतपरिणाम अन्तिमतिर पुग्दै गर्दा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू नयाँ सरकारको कसरतमा जुटेका छन्।प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुनः पाँच दलीय सत्ता गठबन्धनको अभ्यासमा छन्।

गठबन्धनभित्र प्रधानमन्त्री पदका लागि ‘देउवा–प्रचण्ड’ सहित दर्जनौँ शीर्ष नेताहरू मुख्य दाबेदार हुन्। पछिल्लो पटक रामचन्द्र पौडेलदेखि गगन थापासम्म प्रधानमन्त्रीकै दौडमा छन्।

नयाँ सरकारबारे चासो राख्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटारदेखि खुमलटारसम्म पुगिरहेका छन्। यतिबेला राजनीतिक माहाेल नयाँ सरकार गठनको विषयमा एकाएक तातेको छ। भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने ‘ग्रिन सिग्नल’ दिइसकेको छ।

चितवन–२ बाट निर्वाचित तथा पार्टी सभापति रवि लामिछानेको राजनैतिक चरित्रबारे राजनीतिक वृत्तमा थप चासो व्यक्त गरिएको छ। आम प्रश्न छ– उनी सत्तास्वार्थका लागि नयाँ सरकारको एउटा हिस्सा बन्लान् वा प्रतिपक्षमै बस्लान् ?

सभापति लामिछानेले आफ्नो ‘कोर टिम’ लाई आफू अनुकूलको व्यक्ति प्रधानमन्त्री पदका लागि खडा भए समर्थन गर्न सकिने संकेत गरिसकेका छन्। उनको दलबाट लामिछानेसहित सोबिता गौतम, शिशिर ढकाल, गणेश पराजुली, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ र हरि ढकाल विजयी भएका छन्।

त्यसो त लामिछाने नेतृत्वको दलले प्रतिनिधिसभामा समानुपातिकसहित २२ जना सांसद कटाउने दाबी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ९ लाख २३ हजार ९६५ समानुपातिक मत ल्याएको छ। नयाँ सरकारमा जाने नजानेबारे पार्टीभित्र दुईधार देखिन थालेको बताइन्छ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी नयाँ सरकारमा जान तयार रहेको बताइसकेका छन्। सभापति लामिछानेले प्रधानमन्त्रीमा कांग्रेसका गगन थापाको चर्चालाई स्वाभाविक रुपमा लिएको आफूनिकट सदस्यसँग चर्चा गर्न थालेकोबारे सोही पार्टीका नेता तथा कार्यकर्ताबीच खासखुस भएको छ।

शेरबहादुर देउवा र प्रचण्डलाई मान्दैनौँ,’ ढकालनिकट स्रोतले भन्यो। उनी गगन थापाको सचिवालयसँग आन्तरिक संवादमा जुटेको बताइन्छ। गगन–रविको ‘चुनावी कनेक्सन’ लाई लिएर कांग्रेसभित्रै चर्को आलोचना भइरहेको छ।

महामन्त्री थापाले रवि लामिछानेसँग मिलेर देउवानिकट उम्मेदवारहरुलाई हराउने काममा प्रमुख भूमिका खेलेको गम्भीर आरोप छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भएपछि गगन र रविबीच टेलिफोन संवाद भएको बताइन्छ। हालसम्म उनीहरूबीच औपचारिक भेटघाट नभएको गगननिकट नेताहरूको भनाइ छ।

‘गगन थापाले आगामी सरकारको नेतृत्व गर्छन् भने रवि दाइ सकारात्मक हुनसक्ने अनेकौँ कारण छन्। गगन थापा जत्तिको युवा नेता प्रधानमन्त्री बन्नु आफैंमा राम्रो सन्देश हो। तथापि, राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी केन्द्रीय समिति बैठकले यसबारे थप प्रष्ट पार्नेछ,’ प्रवक्ता ढकालले भने।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस