पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

    २७ पुष २०७९, बुधबार १३:२८  मा प्रकाशित
77 जनाले पढ़िसके



पाल्पा – पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । रम्भा गाउँपालिका-३ कालीगण्डकी कोरिडोर सडक खण्डमा गएराति भएको दुर्घटनामा रम्भा गाउँपालिका १ हुँगीका १७ वर्षीय विशाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लु ४ त ७९१६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







यो पनि: बागलुङको जैमिनी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने, काठमाडौँ- बागलुङको जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि १५ लाख रुपैयाँ बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ ।

पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स खरिद गर्न थालेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनी नगरपालिकामा सञ्चालित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पटक–पटक बिग्रँदै आएकाले पालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने र व्यवस्थापनको जिम्मा पालिकाले अस्पताललाई दिने नगर उपप्रमुख शर्माले बताए ।

“पालिकामा सञ्चालित एम्बुलेन्स पुरानो भयो, बिग्रिएर समस्या भएपछि आफ्नै एम्बुलेन्स खरिद गर्न थालिएको हो”, उपप्रमुख शर्माले भने, “नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने महत्त्वपूर्ण निर्णयसँगै जैमिनी नगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्ड फिलसाइट निर्माण गर्ने तयारीसमेत थालिएको छ ।”

नगरको फोहोर व्यवस्थापनमा समस्या भएपछि नगरपालिकाले डम्पिङ साइट निर्माण गर्ने गरी हाल फोहोर फाल्दै आएको जैमिनी नगरपालिका–१ कोप्चे भन्ने स्थानलाई व्यवस्थापन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै पालिकाले हालसम्म स्वास्थ्य चौकी भवन निर्माण हुन नसकेका वडा नं ३ र वडा नं ९ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस